कमन सेन्स इन पोलिटिक्स कुनै दल–विशेषको प्रचार होइन । यो राजनीतिलाई सामान्य समझ, नैतिकता र नागरिक चेतनासँग जोड्ने अभियान हो । नेपालको राजनीतिक सन्दर्भमा ठूला आदर्श, ठूला गफ, खोक्रा नाराहरू र शक्ति–केन्द्रित बहसलाई छोडेर, जनजीवनसँग जोडिने सरल तर गहिरो राजनीतिक समझ निर्माण गर्नु यसको केन्द्र हो ।
सामान्य समझ व्यवहारिक, तर्कसंगत र जनताको वास्तविक आवश्यकता अनुसार निर्णय लिन सक्ने क्षमता हो । सकारात्मक उदाहरणहरूले देखाउँछन् कि यसले दीर्घकालीन स्थिरता, सामाजिक न्याय, र राष्ट्रिय विश्वास कायम राख्छ । नकारात्मक उदाहरणहरूले देखाउँछन् कि सामान्य समझबिना निर्णय गर्दा अस्थिरता, आर्थिक संकट, र दीर्घकालीन हानि निम्त्याउँछ ।
राजनीति कुनै रहस्यमय रकेट साइन्स होइन । यो हाम्रो दैनिकीसँग जोडिएको प्रक्रिया हो—कर, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा तर आज राजनीति हामीलाई टाढाको, जटिल र डरलाग्दो लाग्न थालेको छ । यसको कारण राजनीति कठिन भएर होइन राजनीतिलाई बुझ्न नदिने गरी प्रस्तुत गरिएको भएर हो ।
गल्ती कसले गर्यो भन्ने प्रश्नभन्दा कसलाई दोष दिने भन्ने बहस बलियो छ । नेताले असफलता स्वीकार्दैनन्, नागरिकले जवाफ माग्दैनन् । यसरी राजनीति परिणामबाट होइन बहानाबाट चल्न थाल्छ ।
कमन सेन्स भनेको जे ठीक लाग्यो त्यही होइन । यो त इतिहास र परिणाम बुझेर निर्णय गर्ने विवेक हो । र त्यो विवेकलाई दिशा दिने कुरा नै विचारधारा हो । विचारधारा बिना कमन सेन्स केवल तत्कालिन समाधान बन्छ । आजको समस्या हल भयो तर भोलिको संकट जन्मियो । अर्कोतर्फ विचारधारा बिना राजनीति व्यक्ति केन्द्रित बन्छ । नेता ठीक लागे ठीक, मन परेन गलत । नीति होइन, व्यक्ति बहसको केन्द्र बन्छ । यहींबाट व्यक्तिपूजा जन्मिन्छ र लोकतन्त्र कमजोर हुन्छ ।
र यसको उल्टो सत्य हो कमन सेन्स बिना विचारधारा खतरनाक हुन्छ । जब विचारधारा यथार्थसँग जोडिँदैन, कट्टरता बन्छ । सिद्धान्त बचाउन नागरिक बलिदान दिनुपर्ने अवस्था आउँछ । त्यसैले विचारधारा र कमन सेन्स आवश्यक छ । एकले दिशा दिन्छ, अर्कोले सन्तुलन । एकले सपना देखाउँछ, अर्कोले जमिनमा उभ्याउँछ । नेपाली राजनीतिले आज यही सन्तुलन गुमाएको छ ।
नेपालमा लोकतन्त्रलाई प्रायः चुनावमा सीमित गरिन्छ । मतदान भयो भने लोकतन्त्र भयो भन्ने बुझाइ छ । तर लोकतन्त्र केवल प्रक्रिया हो भने त्यसको आत्मा कहाँ हरायो ? लोकतन्त्रको मूल आत्मा हो—उत्तरदायित्व । जब सत्ता प्रश्नको उत्तर दिन बाध्य हुन्छ, त्यहीं लोकतन्त्र जीवित हुन्छ । तर आज प्रश्न सोध्ने नागरिक कमजोर छन् र उत्तर दिने सत्ता अभ्यस्त छैन । हाम्रो लोकतन्त्र प्रक्रियागत रूपमा सक्रिय छ— चुनाव हुन्छ, संसद चल्छ, सरकार फेरिन्छ । तर संस्कारगत रूपमा कमजोर छ, गल्ती स्वीकारिँदैन, नीति असफल भए पनि जिम्मेवारी लिइँदैन ।
लोकतन्त्र तब कमजोर हुन्छ जब बहसलाई देशद्रोह भनिन्छ, आलोचनालाई घृणा ठानिन्छ, असहमतिलाई शत्रुता बनाइन्छ । साँचो लोकतन्त्र असहमतिलाई सहन सक्छ । किनकि लोकतन्त्र भरोसामा टिकेको प्रणाली हो—डरमा होइन । नेपालमा लोकतन्त्रको संकट संविधानमा होइन, व्यवहारमा छ । लोकतन्त्र जोगाउन चुनाव मात्र होइन नागरिक चेतना जोगाउनुपर्छ ।
सत्ता आफैँ खराब हुँदैन । सत्तामा पुग्ने प्रक्रिया र सत्तामा बस्ने संस्कारले भ्रष्ट बनाउँछ । नेपालमा सत्ता तीन कारणले नैतिकताबाट चिप्लिने गरेको छ :
१. सत्तामा पुग्न गरिने हत्कण्डा, सम्झौता २. सत्तामा टिक्न गरिने अभ्यास ३. सत्ताबाट झर्न नमान्ने लोभ
जब सत्तामा पुग्न मूल्य चुकाइन्छ, त्यो मूल्य सत्तामा पुगेपछि उठाइन्छ । नीति मार्फत, नियुक्ति मार्फत, निर्णय मार्फत । नैतिकता व्यक्तिगत गुण मात्र होइन यो संस्थागत अभ्यास हो । यदि संस्था कमजोर छ भने राम्रो मान्छे पनि बिग्रन्छ । त्यसैले प्रश्न व्यक्ति होइन प्रणाली हो ।






