नेपालमा सामान्य समझको कमी नीति र कार्यान्वयनमा धेरै देखिन्छ । उदाहरणका लागि, बेरोजगारी नेपालको सबैभन्दा ठूलो र प्रमुख समस्या हो भन्ने सबैलाई थाहा छ, तर नीति निर्माण गर्दा यो विषयलाई प्रमुख बनाइँदैन । गाउँमै रोजगारी सिर्जना गर्ने, साना उद्योग, कृषि प्रशोधन केन्द्र र स्थानीय पर्यटन प्रवर्द्धनमा न त पर्याप्त बजेट छुट्याइन्छ, न त यी विषय पहिलो प्राथमिकतामा नै पर्ने गरेका छन् । सामान्य समझले भन्छ— युवा विदेश जानुको कारण अवसरको अभाव हो, त्यसैले अवसर गाउँमै सिर्जना गर, देशमै काम देऊ ।
अर्को उदाहरण, संघीयतापछि स्थानीय सरकारलाई पर्याप्त अधिकार दिइयो, तर धेरै ठाउँमा स्थानीय आवश्यकताभन्दा पनि केन्द्रकै नक्कल गरेर योजनाहरू सञ्चालन गरियो । हिमाली जिल्लाहरूमा पनि सहरकै जस्तो पार्क र रंगशाला बनाउने सोच कार्यान्वयन गर्न थालियो । यस्तो नीति र यथार्थबीचको दूरी सामान्य समझको अभावबाटै जन्मिएको हो । हिमाल, पहाड र तराईमा एउटै योजना दिनु गलत हो । हिमाल, पहाड र तराईका “समस्याहरू फरक छन् र समाधान पनि फरक छ ।”
राजनीतिमा सामान्य बुद्धि भनेको ठूलो बौद्धिकता देखाउनु होइन, जनताको जीवनलाई गहिरो रूपमा बुझ्नु हो । यो आदर्श र व्यवहारबीचको पुल हो । जब नेता र नीति–निर्माताले शक्ति, पद र प्रचारभन्दा अघि “यसले जनताको जीवन सजिलो बनाउँछ कि बनाउँदैन ?” भन्ने प्रश्न राख्छन्, तब मात्र राजनीति सार्थक बन्छ । आजको विश्व र नेपालको जटिल अवस्थामा सामान्य समझयुक्त राजनीति कुनै विकल्प होइन, अपरिहार्यता हो ।






